ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘अई बेर धानके गबो नई लागल’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २५ गते, १२:५० बजे
‘अई बेर धानके गबो नई लागल’
21
SHARES
Share on FacebookShare on Twitter

– गोपालप्रसाद बराल

‘अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय’

(यसपालि मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भने, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?” (धानको गाबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) । असार मास (महिना) मा चैत वैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कुलक्षण भएको थारुको चिन्ता छ ।

थारुजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन् । “अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनिए नई भसकल” (असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँ नै गर्न सकिएन) थारुकै छिमेकी ७० वर्षीय रघुवर महराले मनको पीडा पोखे ।

झमझम असारे झरीमा रुझ्दै धान रोप्नु, गोड्नु पर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसानलाई यसपालि अनिकालको चिन्ताले पिरोलेको छ । मध्य असारअघि धानको शाही (बीउ) रोप सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् ।

“अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनु पथ्र्यो, तर हामीले त धानको गब नै हाल्न पाएका छैनौँ”, भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साह भन्छन्, “मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवार लालाबालाको प्रतिपाल खै कसरी गर्ने होला ?” सबैको समान चिन्ता छ ।

असार तेस्रो साता सकिनै लाग्दा गत मङ्गलबार रातिदेखि बुधबार बिहानसम्मको पानी पराईले अब चाहीँ झरी पर्ला भन्ने लागेको आश उसै दिन मरेको किसान बताउँछन् । “ढिलै भएपनि झरी लाग्लाजस्तो लागेको थियो, तर बुधबार मध्यान्हपूर्व नै टण्टलापुर घाम लाग्यो” मटिहानी–३ का किसान इलियास राइन भन्छन्, “अब धान रोप्न पाइने आश छाडे हुनेभयो ।” असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट अब हात धोेए हुने राइन बिरक्तिदै बताउँछन् ।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही (बीउ) रोप सक्ने र साउन मध्यअघि खरुअन (कलम, बीउ रोपको धान गाँजिएपछि त्यो उखेलेर रोपिने) रोपिने स्थापित तालिका छ । तर, यसपालि पानीकै अभावले किसानले राम्ररी ब्याड राख्न पनि सकेनन् ।

धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर सुकेको किसानको दुखेसो छ । “अब त पानी परे पनि त्यो बचेखुचेको बीउ रोप्ने-नरोप्ने विचार गर्नपर्ला, बीउमा हाँगा फाटी सकेको हुँदा त्यति छिप्पिएको बीउ रोपेर के फलाउला भन्ने आश गर्नु र?” बलवा नगरपालिका–११ भलनीका जगत यादव भन्छन्।

“वर्षाकाल (याम) भनिने असारमा दिनभरि चर्को घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्” जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा ऋतु लक्षणका जानकार यस क्षेत्रका स्थापित साहित्यकार ८५ वर्षीय महेश्वर राय भन्छन्, “अहिलेको दिन लक्षणले त असारको भनक नै दिंदैन ।” महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ ९बादल० देखिने चर्चा गर्नुभएको रायले स्मरण गरे ।

“महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नु भएको छ” सरकारी सेवाबाट अवकास लिनुभएका राय भन्छन्, “अब त ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे ।”

अवकास जीवनलाई खेतीसँग जोड्न खोजेको आफुलाई मौसमले साथ नदिएको उनको भनाइ छ । प्राकृतिक सम्पदा वनजङ्गल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका रायको ठहर छ ।

यसपालि गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान सम्झन्छन् । हिउँदभरि पानी नपरेरै बितेपछि पानीका स्रोतका मुहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ्ग, चापाकल, जरुवा) चैतदेखि नै सुक्दै गएर खेती मात्र नभएर धेरै ठाउँमा खानेपानीको समेत हाहाकार परेको छ ।

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनु आफुहरुको दुःख भएको किसान बताउछन् । तीन तहका सरकार भएपनि आफ्ना हितमा उल्लेखनीय कुनै काम हुन नसकेको आम आधारभूत तहका किसानको गुनासो छ ।

सरकारले वर्षेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यक्रम टाठाबाठाले नै हजम गरेपछि आफुहरु आकाश ताकेर बिरक्तिनु परेको बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगरको गुनासो छ ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो  धान खेतीका लागि उपयुक्त मानिएको छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिंचित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकासेपानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् ।

“उ, ल हेर्नुहोस्, हाम्रो ठाउँ त सिंचित भनिएको छ नि !” विगतमा गौरीवास गाविस (बर्दिबास नगरपालिकामा गाभिनअघि) छँदा दुई कार्यकाल अध्यक्ष रहनु भएका पाका किसान ७० वर्षीय नरबहादुर पुलामीले भने, “चर्को घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो रु” पानीको मुहान सुकेर कुलो चल्न छाडेपछि कमिलाका ताँती हिँडेका पुलामीले देखाए ।

यसपालि सिञ्चित भनिएका जग्गाको पानीका स्रोतको मुहान लामो खडेरीले सुकाएपछि यस्ता खेतमा पनि धान रोपाइँ पछि परेको छ । असार सकिनै लाग्दासम्म धान रोपाइँ पाँच÷छ हजार हेक्टर मात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ । रोपिएको धानको रोपो पनि पानी नपुग्दा पहेंलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादव बताउँछन् ।

चुरे पर्वत श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही, खयरमारा, टुटेश्वर र बाँकेलगायतका नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन् । जिल्लाको पूर्व–पश्चिम चौडाइभित्र प्रत्येक दुई किलोमिटरभित्र कुनै न कुनै नदी परे पनि यी नदी किसानको खेतमा पानी पु¥याउन नभई बर्खे भेलमा घरखेत, बालीनाली बगाएर विपत्ती दिने मात्र बन्दै आएका यहाँका किसान कटाक्ष गर्छन् ।

जिल्लाभित्रका नदीबाट खेतबारीमा पानी पुर्याउने सपना कुनै तहका सरकारले आपूmहरुलाई देखाउन नसकेका भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारको गुनासो छ ।

जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले लगाउन नपाएपछि यसपालि अन्नको सङ्कट बढ्ने आम किसानको चिन्ता छ । यसैबीच, कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वर कार्यालयका कृषि विज्ञले भने अझै पानी परे नयाँ बीउ राखेर १५ दिनभित्र रोपाइँ गर्न सकिने बताएका छन् । तर पानी नपरे अब अहिलेदेखि नै कम पानीमा गर्न सकिने बाली लगाउने तयारी गर्नपर्ने विज्ञको सुझाव छ ।  हिँउदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी र अन्य तरकारी बाली लगाइए जाडो मौसम लागेपछि पानीबिना बाली डढ्ने स्थिति त्यति नरहने वरिष्ठ कृषि विकास अधिकृत डा. यादवको  सुझाव छ ।

सर्वसाधारण किसानले भने आफ्ना जनप्रतिनिधिलाई धेरै विकासे कुरा गर्न छाडेर सिंचाइको व्यवस्थाका लागि विभिन्न विकल्पको खोजी गर्न आग्रह गरेका छन् । “सबै कुराको मुख्य जरो हाम्रा लागि खेती नै हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझी दिनुपर्यो” जिल्लाको गौशाला नगरपालिकाको बटौवा बस्तीका किसान लक्ष्मी महतो भन्छन्, “खेती भन्नासाथ सिँचाइको कुरा पहिलो प्राथमिकतामै पर्छ, यसका विभिन्न विकल्पबारे अब तीनै तहका सरकारले खोजबिन गर्नुपर्यो ।”

पछिल्ला छ वर्षयता स्थानीय तहमा जनताका प्रतिनिधिको शासन छ । मुख्य रुपले जनताका मर्का र समस्या तत्कालै बुझ्न, हेर्न सक्ने स्थानीय सरकार (स्थानीय तह) ले यसको पहलकदमी लिइदिन पर्ने बर्दिबास–९ पशुपतिनगरका ७५ वर्षीय किसान नथुनी महतो बताउँछन् ।

जिल्लाका १५ स्थानीयतहले कृषिलक्षित विभिन्न घोषणा गरे पनि सिँचाइको समुचित प्रबन्ध हुन नसक्दासम्म ती प्रभावकारी नबनेका किसानको भनाइ छ । स्थानीय तहले फलफुलका बिरुवा बाँड्ने, कहीकहीँ नमुना बीउबिजन दिने र पशुपालक किसानलाई घाँसका बीउ÷बिरुवा केही उदाहरण भएपनि कृषिमा नयाँ क्रान्ति नै ल्याउने गरी कसैले नसोचेका किसानको गुनासो छ ।

आफुहरुलाई समेत अभियानमा सरिक गराउने गरी विशेष कृषि अभियान सञ्चालन गर्न भङ्गाहा–४ का किसान सत्यनारायण यादवले आफ्ना जनप्रतिनिधिलाई  सुझाउनु भएको छ ।

अब यसपालि असार सकिनै लाग्दासम्म राम्ररी पानी नपरेर मुख्य बाली धान लगाउन नपाएपछि आम किसानले आफ्नो ठाउँलाई सुख्खा खडेरीग्रस्त घोषणा गरेर कृषिका अन्य अनुकूल प्याकेज अघि बढाउन माग गरेका छन् ।

“अब खडेरीग्रस्त क्षेत्र घोषणा गरी हामीलाई तत्काल राहत प्याकेज दिनुपर्यो, हाम्रा ऋणका भाखा थपीदिन सँगै ब्याज मिनाहा गर्न र अब गर्नसकिने खेतीबारे प्राविधिक परामर्श र आवश्यक सुलभ ऋण मिलाउन पर्छ” अखिल नेपाल किसान महासङ्घ महोत्तरीका संयोजक पर्शुराम ठाकुर भन्छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist