काठमाडौं । कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध परेको रिटमा बुधवार सर्वोच्च अदालतले एकैपटक अन्तिम सुनुवाइ गर्न आदेश दिएको छ।
तत्काल अन्तरिम आदेशमाथि विचार गर्नुभन्दा पनि विपक्षीबाट साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न लगाएर साउन ७ गतेदेखि रिटको अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश गरेको हो।
असार २२ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले भनेको छ, ‘मिति २०८०/०४/०७ गतेको पेशी तोकी पेशीको जानकारी निवेदक तथा महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिई प्रस्तुत मुद्दा सो मितिदेखि निरन्तर सुनुवाइमा राखी निर्णयार्थ पेश गर्नू ।’
मल्लको एकल इजलासले साउन ३ गते भित्र थापालाइ मुख्यमन्त्री नियुक्त गर्ने सम्पूर्ण कागजात उपलब्ध गराउन भनेको छ ।
आदेशमा उल्लेख गरिएको छ, ‘माननीय उद्धव थापालाई कोशी प्रदेशको मुख्य मन्त्रीमा नियुक्ति गर्ने सन्दर्भमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षर लगायतका सम्पूर्ण कागजात सहित माननीय प्रदेश प्रमुखको मिति २०८०/०३/२१ को निर्णयको सक्कल फाइल कोशी प्रदेश प्रमुखको कार्यालयबाट मिति २०६०/०४/०३ गतेभित्र झिकाउन ।’
सर्वोच्चले मुख्यमन्त्री थापालाई काम चलाउनको हैसियतमा राख्दै दीर्घकालीन महत्वका कुनै पनि निर्णय नलिन आदेश दिएको छ । जारी आदेशमा उल्लेख गरिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाईको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
रिटमा मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुख गौतमले समेत माओवादी सांसदका रुपमा हस्ताक्षर गरेर त्यसलाई प्रदेश प्रमुखमले अनुमोदन गरेका छन् ।
सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या गौतमको हस्ताक्षरसमेतलाई जोडेर पुर्याइएपछि एमाले प्रचलित संसदीय मूल्य मान्यता र धारा १८६ को उल्लंघन भएको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएका हुन् ।