इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा देशमा अहिले पनि स्थायित्व र दीगो शान्ति आवश्यक रहेको बताएका छन् ।
सुनसरीको इनरुवामा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै उनले स्थायित्व र शान्ति आवश्यकता रहेको बताएका हुन् ।
देउवाले भने, ‘लोकतन्त्रको रक्षा गर्ने पहिलो दायित्व कांग्रेसलाई छ । बीपीले परिकल्पना गर्नुभएको लोकतन्त्रतको स्थायित्वका लागि दीगो शान्ति आवश्यक छ । त्यसका निम्ति सबैलाई एकजुट हुन आग्रह गर्दछु ।’
उनले बैठक लाइभ गरेका कारण सकारात्मक प्रतिक्रिया आएकाले आँफू खुशी लागेकोे बताए ।
‘पार्टीमा विरोधका कुरा पनि उठिरहेका छन्, स्वभाविक पनि हो,’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘यसैबीच मैले पार्टी बैठकको लाइभ गरिदिएँ, यसकारण अहिले पार्टीभित्र सकारात्मक कुरा आएको छ, म खुशी छु ।’
खासगरी वीपी र गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आँफूले आउन पाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि आइरहने प्रतिबद्धता व्यक्त गरे ।
अहिले देखिएको नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको बताए । ‘
लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक थियो, यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको छ,’ उनले भने, ‘आगामी दिनमा कांग्रेसलाई बहुमत दिलाउनका निम्ति सबै साथीहरूलाई एकजुट हुन आग्रह गर्दछु ।’
कार्यक्रममा पार्टीका सह–महामन्त्री भीष्मराज आङ्देम्बे, पार्टीका पूर्व उपसभापति विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू अमृत अर्याल, राजीव ढुंगाना, राजीव कोइराला, लक्ष्मी खतिवडा, उमेशजंग रायमाझी, कल्पना चौधरी, कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी प्रदेश सभापति उद्धव थापा लगायतले बोलेका थिए ।