इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति विरुद्धको मुद्दा सर्वोच्च अदालतमा आइतबार हेर्न नमिल्नेमा परेको छ ।
नेपाली काङ्ग्रेस नेता उद्धव थापा नेतृत्त्वको कोसी प्रदेश सरकार गठनविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर रिटको पेसी हेर्न नमिल्ने भएको हो ।
यसअघि निरन्तर सुनुवाइ हुने आदेश भएको यो मुद्दाको आइतबार नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी चढेको थियो । तर, न्यायाधीश कुमार रेग्मीले रिट निवेदक हिक्मत कार्की आफ्नो साथी भएकाले मुद्दा हेर्न असहज हुने भन्दै मुद्दा नहेर्ने निर्णय गरेका हुन् ।
’म हिक्मतजीसँग कक्षा ४ देखि सँगै पढेको हुँ । हुन त सँगै पढेका त धेरै साथी हुन्छन् तर उहाँ मेरो अत्यन्तै मिल्ने साथी भएकाले मलाई ‘अनइजी’ हुन्छ निर्णय गर्न । त्यसैले मैले हेर्न मिल्दैन ’ रेग्मीले इजलासमा भनेका थिए ।
यसअघि सपना प्रधान मल्लको एकल इजलासले नियुक्त भएका मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिँदै अन्तिम सुनुवाइका लागि साउन ७ गतेलाई पेसी तोक्ने निर्णय गरेको थियो ।