विराटनगर । लामखुट्टेको टोकाइले हुने डेंगु संक्रमण नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
लामखुट्टेको बासस्थान नष्ट गरे सङ्क्रमण नियन्त्रण हुँदै जाने नत्र अझ फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसारसरसफाइमा ध्यान नदिँदा सङ्क्रमण बढिरहेको हो ।
यो वर्ष हालसम्म ४ हजार जनाभन्दा बढीलाई संक्रमण भइसकेको छ । तीमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सुनसरीको धरानमा डेंगुबाट संक्रमित बिरामीको संख्या धेरै रहेको जनाइएको छ । त्यसपछि धादिङमा संक्रमितको संख्या धेरै छ । डेंगुका कारण सुनसरीमा तीन जनाको ज्यान गएको छ ।
धरानमा डेंगु नियन्त्रण भएन, दैनिक बिरामी थपिँदै
यो संक्रमणबाट १० जिल्ला प्रभावित छन् । सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, संखुवासभा, म्याग्दी, कञ्चनपुर, रुपन्देही र मोरङमा संक्रमण बढिरहेको जनाइएको छ ।
एकपटक लामखुट्टेको बासस्थान नष्ट गर्दैमा संक्रमण रोकथाम नहुने भएकाले सफाइ तथा लामखुट्टे नियन्त्रण अभियानलाई निरन्तरता दिन महाशाखाले आग्रह गरेको छ ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । यो लामखुट्टेले सफा पानीमा फुल पार्छ ।
यसको टोकाइबाट जोगिन घरभित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।