काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो ।
उजुरी छलफल गर्न लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पनि बोलाउने निर्णय गरेको छ। भोलि (साउन १७ गते) बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय पनि गरिएको समितिका ज्येष्ठ सदस्य कार्कीले बताए ।
सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो ।
संसदीय सुनुवाइ समितिले उनीहरुमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्नका लागि यसअघिको बैठकमा उजुरी आह्वानका लागि १० दिने सूचना जारी गरेको थियो। तर, उजुरीमाथि छलफल नगर्ने भएपछि अब उनीहरुको सुनुवाइको प्रक्रिया समितिमा सुरु हुन्छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।