विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छन् । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बु स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी हुन् ।
नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छन् । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री रहिसकेकी लिम्बु ९३ सदस्यीय प्रदेशसभामा जसपाकी एकमात्र सांसद हुन् ।
लिम्बू मन्त्री बनेपछि कोसी प्रदेश सरकारमा पाँच सदस्यीय मन्त्रि मण्डल बनेको छ । यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए ।