विराटनगर । सरकार गठन र विश्वासको मत लिने तालिकाको महत्वपूर्ण कार्यक्रम छाडेर नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत विराटनगरमा आयोजित एनजीओको कार्यक्रममा सहभागी भएका छन् ।
आफ्नो काबूबाहिरको परिस्थितिका कारण प्रदेशसभाका चालु अधिवेशनका केही बैठकमा अनुपस्थित हुने जानकारी गराएका बस्नेत सोमबार विराटनगरमा कोक्यापद्वारा आयोजित ‘नागरिक शिक्षा र मानव अधिकार’ विषयक कार्यक्रममा पूरा समय उपस्थित भएको पाइएको हो ।
प्रदेशसभामा सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यतालिका रहेको महत्त्वपूर्ण बैठक छाडेका बस्नेतले आइतबार नै प्रदेशसभा सचिवालय, एमाले संसदीय दल, प्रमुख सचेतकलाई पत्राचार गर्दै सोमबार बैठकमा अनुपस्थित हुने जानकारी गराएका थिए ।
प्रदेशसभा सदस्य बस्नेत बाहिर एनजीओको बैठकमा भेटिनु आफैमा लज्जास्पद भएको उक्त कार्यक्रममा उपस्थित एक नेताले बताए ।