विराटनगर । कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा सदस्य कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ ।’
पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताएका नेता कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन । संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’
उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्टयारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताए ।
नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए । त्यो कत्तिको उचित होरु’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ ।’
त्यसैगरी, उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए ।
उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ । सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएकाछन् । सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानवीन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ ।’