इटहरी । बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजना स्वास्थ्यकर्मीलाई सुनसरीको बराहक्षेत्रमा पक्राउ गरेको छ ।
आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनील पोख्रेललाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।
कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षीय निरीक्षक पोख्रेलले जबरजस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आफ्नी आमालाई सुनाएकी थिइन् ।
परिवारले प्रहरीमा उजुरी दिएपछि पोख्रेललाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।