काठमाडौं । हङकङमा बुधबारबाट सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल तान्जनियासँग २७ रनले पराजित भएको छ । पहिलो पटक तान्जनियासँग भिडेको नेपाल अप्रत्यासिलो रुपमा पराजित भएको हो ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङको गरेको तान्जनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। जवाफमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा धरासायि बन्दा १६।५ ओभरमा ८८ रनमा समेटियो ।
नेपालका लागि सिता रानामगर र कप्तान इन्दु वर्माले दोहोरो रनको स्कोर बनाउनु बाहेक अन्य कुनैपनि ब्याटर क्रिजमा टिक्न सकेनन् । सीता ४३ रन बनाएर आउट भएकी थिइन भने इन्दु १५ रनमा पेभिलियन फर्किइन् ।
नेपालका ९ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा तान्जनियाका लागि सोफिया जेरोमीले २।५ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ३ विकेट लिइन्। त्यस्तै निमसा पिउसले २ विकेट लिएकी थिइन् ।
त्यसअघि तान्जनियाका लागि आइसा मोहमदले २१ रन बनाउँदा हुद्दा ओमारीले २६ बलमा २ चौकासहित २५ रन बनाइन् । त्यस्तै फटुमा किवासुले ११ रन बनाउँदा मनिसका पस्कालले १० रन बनाएकी थिइन् । नेपालका लागि संगिता राईले २ तथा कप्तान इन्दू बर्मा, पूजा महतो र पूर्वकप्तान रुविना क्षेत्रीले समान १(१ विकेट लिइन् ।







