झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो विर्तामोड नगरपालिका-१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यक्रमको संयोजन गरेको थियो । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी थिए । शुक्रबार अपराह्न झापा पुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची क्राउन होटेलमा बसेका थिए ।
उनको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरूले शक्ति प्रदर्शनसमेत गरेका थिए ।
होटेलबाट निस्किए लगतै पूर्वराजा शाहको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’, ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो ।
कलेज परिसर पुग्नुअघि पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गर्दै गएका थिए ।