इटहरी । इटहरीमा स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने भएको छ । इटहरीमा रहेको द योङ्ग बद्र्रस क्लबको आयोजनामा गोल्डकप प्रतियोगिता हुने भएको हो ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने जानकारी आयोजकले दिएको छ ।
क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् ।
सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, हरेक दिनको म्यान अफ द म्याचलाई नगद पाँच हजार, बेस्ट किप्परलाई नगद दस हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद दस हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक केसीले बताए ।
‘फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ केसीले भने, ‘यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुनेछ ।
फुटबल खेलको उत्पादनमा प्रतियोगिताले योगदान पु¥याउने विश्वास लिइएको छ ।’‘किसुनजी’ लाई खेलकुदमार्फत सम्झिएको र यसमा कुनै राजनीतिक संलग्नता नरहेको उनले स्पष्ट पारे । पछिल्लो समय देशबाट खेलाडीहरू विदेशिरहेका कारण पनि उनीहरूलाई खेल क्षेत्रमै स्थापित गराउन राज्यले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
इटहरीमा हुने गोल्ड कपहरूले खर्चको पारदर्शिता भएको पाइँदैन भन्ने जिज्ञासामा केसीले भने, ‘खेलकुदमा चासो हुनुपर्छ । हामीले गोल्डकप सकिएको सात दिनभित्रमा सबै खर्च सार्वजनिक गर्नेछौँ । अरूले के गर्छ त्यसबारे जिम्मेवारी लिने कुरा भएन ।’
प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी आयोजकले दिएको छ ।
क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताए । यो प्रतियोगिताले समाजका युवाहरूलाई खेल क्षेत्रप्रतिको आकर्षण बढाउने उनको भनाइ छ ।
यसअघि उक्त क्लबले ‘भेट्रान कप’ आयोजना गरेको उनले स्मरण गरे । ‘भेट्रान कप’ भनेको खेल जीवनबाट ‘रिटायर’ भएकाहरूलाई मन भुलाउन गरिएको र यो प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा स्थापित गराउन प्रेरित गर्ने उनले बताए ।