तनहुँ, २० भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँमा शुक्रबारदेखी सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन । आइतबारसम्म ८४ वडामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस तनहुँका जिल्ला कमिटी सचिव विश्व बास्तोलाले जानकारी दिए । उनका अनुसार ६९ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । १५ वडामा भने निर्वाचनबाट नेतृत्व छानिएको छ ।
शुक्रबार र शनिबार जिल्लामा अधिवेशनको सरगर्मी चढेको थियो । अहिलेसम्म अधिवेशन सकिएका ८४ वडा मध्ये ४ वडाले मात्र महिला सभापति पाएको छ ।
घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमती जुट्न नसकेपछि आइतबार मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको बास्तोलाले जानकारी दिए । शुक्रबार स्थगित भएको शुक्लागण्डकी नगरपालिका–८ मा भने अधिवेशन हुन बाँकी छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको क्रियाशिल सदस्यता रहेको वडामा विवाद सिर्जना हुँदा अधिवेशन हुन नसकेको हो ।
उक्त वडामा छिट्टै अधिवेशन सम्पन्न गर्ने बास्तोलाले बताए । ‘अधिवेशन गर्नलाई सहमति भएको छ । भोली-पर्सीभित्रै अधिवेशन हुने छ’, उनले भने । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रकृया सुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो ।
वडा सभापतिबाट ब्याक भएका ऋषिराम महतले आफ्नो पक्षका १४ जना प्रतिनिधी नराख्ने भएपछि निर्वाचन सामग्री जफत गरेका थिए । महत पछाडी हट्दा पौडल पक्षका विपेन्द्र सेन ठकुरी सभापतिका एक्ला उम्मेदवार थिए । तर, अन्य पदमा विवाद भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनामा निर्वाचन सामग्री जफत भएको पौडेल पक्षका नेताहरू बताउँछन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा कांग्रेसको गुटगत राजनीति हाबी छ । पौडेलसँगै संस्थापन शेरबहादुर देउवा, युवा नेता प्रदिप पौडेल, पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको छुट्टाछुट्टै गुट छ । वडा अधिवेशनमा जोशीले आफू पक्षका नेता कार्यकर्तालाई सहभागी नहुन अनुरोध गरेका थिए ।