काठमाडौं । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेकोले आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू पुरा भइसकेको र केही पुरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिन माग गरेको हो । मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानविन अगाडि बढाएको लगायतका ८ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ ।
मन्त्रालयले भदौ २० गतेदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध रहेको भन्दै तत्कालै अवरुद्ध सेवा चलाउन गर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । सरकारले छानबिन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
प्रतिष्ठान शुद्धीकरणको माग राख्दै तीन महिनादेखि आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले एक महिनादेखि आन्दोलनरत जारी राखेका छन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरेको थियो ।