धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिको सभापति सहित ७ पदाधिकारी पदमा दुई प्यानल विच सिधा प्रतिस्पर्धा हुने भएको छ । नगर समितिका सदस्यहरु सबै निर्विरोध भएका छन् ।
प्रत्यक्ष तर्फ उम्मेदवारी नै नपरेकाले एक महिला सदस्यको स्थान रिक्त रहने भएको छ । पदाधिकारीको निर्वाचनका लागि शनिवार विहान ८ बजे देखी सुनसरी उद्योग वाणिज्य संघको भवनमा मतदान हुने मतदान अधिकृत भरत शाक्यले बताए ।
कांग्रेसको विधान अनुसार नगर समितिमा प्रत्यक्ष तर्फ २० जना महिला सहित ६० जना सदस्य रहने व्यवस्था छ । साथै समानुपातिक सदस्यहरुमा खस आर्यबाट ३ महिला सहित ७ जना, आदिबासी जनजातिबाट १३ महिला सहित २६ जना, मधेशीबाट १ महिला सहित २ जना, दलितबाट २ महिला सहित ४ जना र मुस्लिमबाट १ जना नगर समितिमा सदस्य रहने व्यवस्था छ । प्रत्यक्ष र समानुपातिक सदस्यहरु सबै निर्विरोध निर्वाचित भएको बताइएको छ ।
शनिवार मतदान हुने ७ पदाधिकारीमा १ सभापतिका लागि २ जना, २ उपसभापतिका लागि ४ जना, २ सचिवका लागि ४ जना र २ उपसचिवका लागि ४ जनाको उम्मेदवारी परेको शुक्रवार निर्वाचन स्थलमा प्रकाशित सूचनामा जनाइएको छ । सबै पदमा २÷२ जनाको उम्मेदवारी सभापतिका उम्मेदवार श्याम पोखरेल र किशोर राई प्यानल बाट परेको हो । पोखरेल नेपाली कांग्रेस धरान नगर समितिका वर्तमान सचिव हुन् । किशोर राई अघिल्लो कार्यसमितिका भूतिपूर्व सभापति हुन् ।
पोखरेलको प्यानलबाट उपसभापति पदमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुको उम्मेदवार छन् । सचिवमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार छन् । सहसचिवमा शिला बज्राचार्य र नेता युनेस राना मगर उम्मेदवार छन् । यसैगरी राईको प्यानलबाट उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बु) उम्मेदवार छन् । सचिवमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठ उम्मेदवार छन् । सहसचिवमा कमला रुचाल र गोपाल कार्की उम्मेदवार छन् । नगर समितिको कोषाध्यक्ष पदमा निर्वाचित कार्यसमितिले सदस्यहरु मध्ये बाट मनोनयन गर्ने प्रावधान छ ।
शनिवार हुने मतदानमा कांग्रेसको धरानका २० वडाहरुबाट निर्वाचक मण्डलमा छानिएका ४६९ जना सहित ४९६ जना सहभागी हुनेछन् । निर्वाचन समितिले मतदानका तयारी पूरा गरेको छ । मतदान स्थालमा मोबाइल लैजान नपाइने सहित सबै सूचनाहरु मतदानस्थलको गेटमा टाँसिएको छ ।







