काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत वडा र स्थानीय तहको अधिवेशन भइसकेपनि निर्धारित मितिकै केन्द्रीय महाधिवेशन हुनेमा आशंका भने कायमै छ ।
क्रियाशील सदस्यता विवादकैबीच भदौ १८ गतेदेखि सुरु भएको अधिवेशनको प्रक्रियाले दुई चरण पार गरिसक्दा पनि विवाद समाधान हुन सकेको छैन । अहिलेसम्म ६४ जिल्लामा वडाअधिवेशन र ५५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ । जसका कारण अधिवेशनले दुई खुड्किला पार गर्नै लाग्दा पनि निर्धारित मितिकै केन्द्रीय महाधिवेशन हुनेमा आशंका भने कायमै रहेको छ ।
पार्टी भित्र सस्थापन पक्ष र इतर पक्ष बीच महाधिवेशन केन्द्रीत विवाद र रस्साकस्सी बढेको छ । मुख्यगरी नेतृत्व आकांक्षीहरूको जसरी पनि नेतृत्व कब्जा गर्ने मनसायले अधिवेशन प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि विवाद उत्कर्षमा जाँदो छ । पार्टीभित्रको बढ्दो विवाद र घम्साघम्सीले फेरि पनि महाधिवेशन प्रभावित हुने आशंका बढेको कांग्रेसका संस्थापन इतरका नेता कार्हयकर्ताको भनाई छ ।
महाधिवेशन रोकिंदैन : बस्नेत
पार्टीे संस्थापन पक्ष महाधिवेशन प्रक्रियाले सहज रूपमा गति लिइसकेकाले अब महाधिवेशनप्रति आशंका गर्नुपर्ने कारण नरहेको जिकिर गर्छ । धेरै जिल्लाहरूको वडा र पालिकाहरूको अधिवेशन भइसकेको र बाँकी रहेको जिल्लाहरुमा पनि दशैंअघि नै टुंग्याउने तयारी भइरहेकोले महाधिवेशन नरोकिने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत बताउन्छन । जिल्ला अधिवेशन हुनुअघि समयको चाप परेको स्वीकार्दै तोकिएको समयमा महाधिवेशन गर्न वातावरण बनिसकेको उनको तर्क छ ।
तर, पार्टीभित्रको संस्थापनइतर पक्षले भने अझै पनि निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न हुनेमा आशंका गर्न छोडेको छैन। महाधिवेशनको अन्योल बढ्दै गएकाले पार्टीको कुनै पनि सदस्यलाई मंसिरमा महाधिवेशन ढुक्कसँग हुन्छ भन्ने पक्षमा आफू नभएको केन्द्रीय सदस्य गगन थापा दावी गर्छन । पार्टी नेतृत्व र पदाधिकारीहरूको बैठकले महधिवेशनको समय लम्ब्याए आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
संस्थापनइतर पक्षको आशंकालाई संस्थापन पक्षले भने महाधिवेशन केन्द्रीत भोटको सस्तो प्रचारवाजीको रूपमा लिएको छ । वडा र पालिका तहमा आफू अनुकल परिणाम नआउँदा असन्तुष्टि प्रकट गरेर खेलिदिँदा समयमा महाधिवेशन नहुने भनेर हल्लाखल्लाको वातावरण बनेको संस्थापन पक्षीय नेता बस्नेतको दावी छ । अधिवेशन समयमा नगरेर आफू चर्चित हुने प्रवृत्ति देखिएको उनले आरोप लगाएका छन् ।
कांग्रेस महाधिवेशन लामो समयसम्म क्रियाशील सदस्यता विवादका कारण पटक–पटक निर्वाचनको कार्यतालिका प्रभावित बन्दै आएको छ । कार्यतालिका प्रभावित हुने विवाद अहिले पनि जस्ताको त्यस्तै रहंदा अधिवेशन भइसकेका वडा र स्थानीय तह पनि विवाद मुक्त हा सकेका छैनन् ।
ती मध्ये कतिपय विवाद प्रक्रियागत छन् भने कतिपय अधिवेशनलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । क्रियाशील सदस्यतादेखि आफ्नो दुनो बलियो बनाउन सुरु गरेका पार्टी नेतृत्वका आकांक्षीहरू आफ्नो पल्लाभारी बनाउन अहिले पनि विभिन्न बखेडा झिक्न छोडेका छैनन् ।
पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।







