काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भईरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमति अनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको बताईएको छ ।
नेपाली कांग्रेसबाट हाल सरकारमा तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त भएका छन् । सरकार गठन भएको लामो समय बितिसक्दा पनि विस्तार हुन नसकेको मन्त्रिमण्डलमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।
अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ ।
यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा. शशांक कोइरालानिकट नेता डा. मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल समूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो ।
यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।
यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री भने नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् ।
‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवानिकट स्रोतको भनाई रहेको छ ।