काठमाडौं । सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्।
नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।
यसैगरी, जनता समाजवादीका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपाका नेता प्रेम सुवाललगायत बैठकमा सहभागी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सर्वदलीय बैठकमा गएनन्। उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि गएका थिएनन्।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको कार्यप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ।