काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवर्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्किएका डा. खड्काले राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीति राष्ट्रिय सहमतिमा नै तर्जुमा गर्नुपर्ने बताएका हुन् ।
स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले भने, ‘राष्ट्रिय सहमति कायम गरेर परराष्ट्र नीति बनाउनुपर्छ, दल विशेषको परराष्ट्र नीति हुँदैन ।’ परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने विषयमा राजनीतिक दलहरू विभाजित हुननहुने र सबैको मतैक्य हुनुपर्ने उनको जिकिर छ ।
छिमेकी राष्ट्रलगायत सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने विदेश नीतिमा जोड दिँदै उनले अगाडी भने, ‘सबै राजनीतिक दलबीच सहमति कायम गरेर साझा राष्ट्रिय हित प्रवद्र्धन गर्ने परराष्ट्र नीति बनाउन मेरो प्रयास हुनेछ ।’
न्युयोर्कमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा आफूले अमेरिकी अनुदान सहयोग मिलेनियम कर्पोरेसन कम्प्याक्ट ९एमसिसी० संशोधन गर्नुपर्ने धारणा व्यक्त नगरेको बरु चारवर्षअघि भएको सम्झौतालाई अहिले नेपालले संशोधन गरौँ भन्दा अमेरिकाले त्यसलाई स्वीकार गर्ने सम्भावना क्षीण देखेको अभिव्यक्ति भने दिएको उनले खुलासा गरेका छन् ।
अन्तर्राष्ट्रिय ढाँचामा भएको एमसिसी सम्झौतालाई नेपालले संशोधन गरौँ भनेसँगै त्यस्तै सम्झौता गरेका विश्वका अन्य ४० भन्दा बढी देशले पनि त्यसै गरे अमेरिकाको जवाफ के होला भन्ने जिज्ञासा आफूले कार्यक्रममा राखेको उनले जानकारी दिए । एमसिसीबारे भ्रामक खबर न्युयोर्कबाट सम्प्रेषण भएकामा खेद प्रकट गर्दै परराष्ट्रमन्त्री डा. खड्काले वस्तुपरक समाचार पस्कन सञ्चार क्षेत्रलाई सुझाव समेत दिएका छन् ।