काठमाडौं । चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफिक रणनीति ल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
गोदावरीमा आज सुरु भएको नेकपा एमालेको विधान अधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफिक रणनीति ल्याएको बताउँदै चीनको प्रगति रोक्न अमेरिका लागि परेको बताएका हुन् ।
ओलीले भने, ‘विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रूपमा रुसको पुनरागमन, विक्स, सांघाई सहकार्य संगठन जस्ता क्षेत्रीय शक्ति र संगठनहरूले चुनौती दिएका छन्, विश्व बहुध्रुवीय बन्दै गएको छ । चीनसँगको सम्बन्ध लगायत प्रश्नमा युरोपले सापेक्ष दृष्टिकोण राख्न थालेको छ ।’
उनले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेकाले त्यसलाई रोक्ने प्रयास जारी रहेको दावी गरेका छन्।
विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेको र अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्टाट्रेजी यसै विषयतिर लक्षित रहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले हालै अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता ‘कोकस’ले यस क्षेत्रमा तनाव सिर्जना गरेको पनि उनले बताए।
उनले अल्पविकसित र विकासशील राष्ट्रहरूलाई अप्ठेरोमा पार्ने प्रयास विश्वभरिका शक्तिकेन्द्रहरुबाट भइरहेको उल्लेख गर्दै अल्पविकसित र विकासशील राष्ट्रहरूले पाउनुपर्ने सहयोग कटौती भएको बताए । ओलीले राष्ट्रसंघ र यस अन्तर्गत मानव अधिकार परिषद्जस्ता संयन्त्रलाई निस्प्रभावी बनाउने प्रयास भइरहेको जिकिर समेत गरेका छन् ।