काठमाडौं । नेपाली कांग्रेसको सभापति काठमाडौंबाट अहिलेसम्म कोही पनि हुन नपाएको भन्दै नेता प्रकाशमान सिंहले आक्रोश व्यक्त गरेका छन् ।
१४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले पार्टी सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गर्दै काठमाडौंले पनि पार्टीको सभापति पद पाउनुपर्ने बताएका हुन् ।
सिंहले मंसिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीमा आफ्नो धरणा राख्दै सिंहले काठमाडौंका कांग्रेस कार्यकर्ता सधैं अरुको झोला बोक्ने मात्रै हुन् भन्दै नेता–कार्यकर्तालाई प्रश्न गरेका हुन् ।
आज नेपाली कांग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’
१३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको जिकीर गर्दै सिंहले भने, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’
पदमा पुग्न होडबाजी गर्ने नेताहरुले पद पाइसकेपछि काम नगरेको भन्दै सभापति शेरबहादुर देउवाले पनि पद ओगटेको तर काम गर्न नसकेको आरोप लगाउँदै भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’
पार्टीमा गूटै गूट रहेको भन्दै सिंहले अगाडी भने, ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको हो ।’
१४ औं महाधिवेशनपछि जनताले खोजेजस्तो नेपाली कांग्रेस आउने आशा देखाउँदै सिंहले त्यसका लागि नेता–कार्यकर्ताले आफूलाई सभापतिमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
नेता–कार्यकर्ताले अगाडि बढ्न आफूलाई भनेको जानकारी दिँदै उनले भने, ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन् । प्रजातन्त्र जोगाउनुपर्यो । पार्टी संस्थागत गर्नुपर्यो । जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन ।’
पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति बनेकाले यसपटक काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने भन्दै सिंहले थपे, ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो ।’







