काठमाडौं । सरकारमा सहभागी हुनेको नाम तय गर्न र महाधिवेशनका लागि रणनीति बनाउन कांग्रेसका दुई गुटले अलग अलग छलफल गर्ने भएको छन्।
रामचन्द्र पौडेल पक्षीय नेताहरुको बैठक उनकै निवास बोहोराटारमा आयोजना गरिएको छ भने कृष्णप्रसाद सिटौलाले जमलस्थित एक होटलमा भेला बोलाएका हुन्।
बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने भएपछि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दुवै समूहसँग नाम मागेका छन्। पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक जनाको नाम सिफारिस गर्न सभापति देउवाले निर्देशन दिएका छन्।
पौडेल पक्षबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र तेजुलाल चौधरीमध्ये एकलाई मन्त्री बनाउने तयारी छ भने सिटौलाले उमाकान्त चौधरीलाई पठाउने तयारी गरेका छन्।
पौडेलको सचिवालयले मन्त्रीको नाम सिफारिसँगै महाधिवेशन केन्द्रित छलफल समेत हुने जानकारी दियो।