काठमाडौं । कानुन मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन् ।
शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरेका थिए ।
नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने बताए । स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै कार्कीले समाजको अपेक्षा अनुसार आफू अघि बढने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत गरेको बताए ।
मन्त्री कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने प्रतिवद्दता जनाएका छन् ।







