धनुषा । प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ। नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटना भए लगतै प्रहरीले १३ जनालाई पक्राउ गरेकोमा आफ्ना कार्यकर्तालाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्तालाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पक्राउ परेकाहरूलाई कानून बमोजिम कारबाही गरिने बताएका छन्। उनले एक राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना भएको प्रतिक्रिया दिएका छन्।
दुई दिन भएको वर्षामा ढलबाट पानीको निकास हुन नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताले गुण्डा शैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।