काठमाडौं । राष्ट्रिय सभा सदस्यको चुनाव आगामी माघमा हुने भएकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त रहेका २० पदका लागि आगामी माघ १२ गते चुनाव गर्ने निर्णय गरेकाे हाे । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । साेही ठाउँमा चुनाव गर्न लागिएकाे हाे ।
२० मध्ये १९ जना चुनावमार्फत राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् भने एक जना राष्ट्रपतिबाट मनाेनित हुनेछन् । राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनु भन्दा ३५ दिनअगावै चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रिय सभा चुनाव लगायत अन्य उपचुनावका लागि केही दिन अघि निर्वाचन आयाेगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेकाे थियाे । त्यसक्रममा देउवाले राष्ट्रिय सभा चुनावकाे मिति चाँडै ताेक्ने बताएका थिए ।







