काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठक सार्न प्रस्ताव गरेका छन् ।
समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको बैठक सार्न प्रस्ताव गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ गने सार्न प्रस्ताव गर्नुभयो ।’
भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि ५५ अर्ब अमेरिकी अनुदान एमसीसीलाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा परामर्श भएको बालुवाटार स्रोतको भनाई छ ।
सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि नेताहरूबीच मतैक्यता रहेको बताईएको छ ।