धरान । आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरु चढ्ने सार्वजनिक सवारी साधनको चाबी कब्जामा लिएका छन् ।
विगत १२ दिनदेखि निरन्तर आन्दोलन जारी राखेका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले वार्तामार्फत समस्या समाधान गर्न पहल नगरेको भन्दैआइतबार पदाधिकारीहरुले चढ्ने गाडीको चाबी कब्जा गरेका हुन् ।
संघर्ष समितिले निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले चढ्दै आएको प्रतिष्ठानको गाडीको चाबी कब्जामा लिएका छन् ।
प्रतिष्ठानको हितको लागि गाडी चढ्ने सुविधा दिएपनि दुरुपयोग मात्रै गरेको हुनाले चाबी खोसिएको संयुक्त संघर्ष समितिको दावी छ ।
संयुक्त संघर्ष समितिका सहसंयोजक डा. बिष्णु पोखरेलले भने, ‘उहाँहरुले वीपीको हितमा हरदम सोच्नु हुन्छ, काम गर्नुहुन्छ भनेर गाडीको सुविधा दिएको हो। तर, उहाँहरुले यो सुविधाको सदुपयोग होइन, दुरुपयोग मात्र गर्नुभयो। त्यसैले चार जना पदाधिकारीहरुलाई प्रतिष्ठानले उपलब्ध गराएको गाडी चढ्ने अधिकार नभएकोले चाबी खोसेका हौं ।’
संघर्ष समितिले पदाधिकारीहरुले चढ्ने गाडी जथाभावी दुरुपयोग हुन नदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम लेख्नुपर्ने माग गरेको छ ।
रिले अनसन बस्ने घोषणा
वीपी प्रतिष्ठानका आन्दोलनरत फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन बस्ने घोषणा गरेका छन् ।
संयुक्त संघर्ष समितिले आइतबार उपकुलपति कार्यालय अघि वृहत विरोध सभा आयोजना गर्दै सोमबारदेखि रिले अनसन बस्ने घोषणा गरेको हो । प्रतिष्ठानको उपकुलपति कार्यालय अघि रिले अनसन बस्ने संघर्ष समितिका सहसंयोजक डा.पोखरेलले जानकारी दिए ।
तस्वीरहरु :
तस्वीरहरु : अमृत जैसीको ट्वीटरबाट