धनुषा । नेपाल इन्जिनियर्स एसोसिएनको मधेस प्रदेशको निर्वाचनमा धाँधली भएको भन्दै ईन्जिनियर जनमत संघले छानविनको माग गरेको छ ।
इन्जिनियर्स एसोसिएसनको ३३ औं कार्याकारिणी समिति तथा दोश्रो प्रदेशिक कार्यसमितिको निर्वाचनमा धाँधली भएको दावी गर्दै ईन्जिनियर जनमत संघले मतपत्र छानबिन गर्न माग गरेको हो ।
मंगलबार जनमत संघले एक विज्ञप्ति जारी गर्दै एसोसिएसनको मधेश प्रदेशको निर्वाचनको खारेजीको माग समेत गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी जनमत इन्जिनियर एसोसिएसन तर्फबाट नेपाल इन्जिनियर्स एसोसिएसनको मधेश प्रदेशको चुनाब खारेज गर्न जोरदार माग गर्दछौं।अन्यथा हामीले यस्तो धाँधलीपुर्ण चुनाबबाट आएका पदाअधिकारीलाई मान्ने छैनौं।’
मतदानमा धाँधली भएको भन्दै ईन्जिनियर जनमत संघ, नेसनल इन्जिनियरिङ एसोसिएसन (डीएसटी समूह) लगायतले छानविनको माग गर्दै विरोध जारी राखेपछि मतदान सकिएको तीन दिन वितिसक्दा समेत मतगणना हुन नसकेको ईन्जिनियर दिलिप मण्डलले नीतिसञ्चारलाई बताए ।
ईन्जिनियर मण्डलका अनुसार निर्वाचनमा फर्जी मत खसेको प्रमाण फेला परेपछि समग्र निर्वाचन प्रक्रियाको छानविन गर्न माग गर्दै अध्यक्षको प्रत्यासी रहेका गौरी पण्डितसहित उनको प्यानलले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत दर्ता गरेका छन् ।
मतगणनाको क्रममा ७५ बढी मत शंकास्पद रहेको जनाउँदै छानबिन गर्न पण्डित समुहले माग गरेको छ । असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला समेत लगाएको डीएसटी समूहबाट कोषाध्यक्षका उमेद्वार अशोक शाहले जानकारी दिए ।
उमेद्वार शाहले नीतिसञ्चारलाई भने, ‘ सिडेनले फर्जी मतहरु प्रयोग गरेको छ । हामीसँग प्रमाण छ । निष्पक्ष छानविन नभएसम्म हामी छाड्ने छैनौं । ’
शंकास्पद मतपत्रको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याएपछि मात्रै मतगणना गर्नुपर्ने कोषाध्यक्षका उमेद्वार शाहले माग गरेका छन । फागुन २७ मा सम्पन्न मतदानमा विवाद हुँदा नतिजा सार्वजनिक हुन सकेको छैन।