विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन् ।
लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताए ।
आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्वहरूले सरकारलाई गम्भीर बनाएको बताए ।
‘हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन्,’ उनले भने, ‘अनुसन्धानको क्रम जारी छ, हामी सफल अनुसन्धान गर्छौँ ।’
मन्त्री कार्कीले घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पनि लिएका छन् । मङ्गलवार कोसी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।