विराटनगर । प्रदेशको नाम राख्नका लागि सबै दलले साझा धारणा बनाउनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् ।
प्रदेशको नामकरणमा प्रतिपक्षीको समेत सहमति लिनुपर्नेमा जोड दिंदै प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै नेता कोइरालाले एमालेको सहमति बिना कुनै पनि अवस्थामा प्रदेशको नामकरण टुंगो लगाउन नसकिने बताएका हुन् ।
प्रदेशको नाम सबैले रुचाउने, सबैले पचाउने साझा सहमतिको आधारमा हुनुपर्ने भन्दै प्रदेशको नामकरण चालु हिउँदे अधिवेशनमा नभए बजेट अधिवेशनमा गर्ने सङ्कल्प लिन सबै राजनीतिक दललाई कोइरालाको आग्रह गरे ।
उनले सुनसरीको दुहबी र इनरुवा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएकाले यसको स्त्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिदैं छुट्टै भाषा र संस्कृति रहेको खवास जातिलाई उत्थान गर्न सरकारको ध्यानकर्षण गराए ।
मन्त्रिपरिषद् ठूलो हुँदा खर्च बढ्ने उल्लेख गर्दै नेता कोइरालाले मितव्ययी बन्न आग्रह समेत गरेका छन् । सरकारलाई मितव्ययी बन्न आग्रह गर्दै नेता कोइरालाले भने, ‘सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नुपर्छ,’ उनले भने, ‘हाम्रा मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जाँदा हुन्छ ।’
नेता राजीव कोइरालाले मोरङको लेटाङमा कर्तव्य पालनको सिलसिलामा आफ्ना ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
प्रदेश सभासदस्य विन्दिया कार्की र ज्योति सुब्बाले मोरङको लेटाङमा भएको यौन दुव्र्यवहारका घटना र पछि बनेको परिस्थितिमा कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनिरुले प्रदेशमा दिनप्रतिदिन बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता कुकर्म गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरे ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव पेश गरेका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै विगतका सरकारले बजेट निर्माणमा आफ्नो प्राथमिकतामा चुकेको आरोप लगाएका थिए । उनले पहिलो चौमासिक सकिन लागेको समयमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै सरकार बजेट कार्यान्वयनमा लागिपरेको बताए ।







