इटहरी । पछिल्लो समय सामाजिक सञ्जाल र ईन्टरनेटको प्रयोग बढ्दो छ । यसको सदुपयोग गरेमा सूचना प्राप्त गर्नका लागि सकारात्मक प्रभाव पर्छ । तर, पछिल्लो समय ईन्टरनेटको चरम दुरुपयोगले साइबर अपराध बढ्दो रहेको पाइएको छ ।
विशेषगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर जस्ता सञ्जालमा अरुहरुलाई गालीगलौच गर्ने, होच्याउने, तस्वीरको दुरुपयोग गरी ट्रोल बनाउने काम पनि हाबी भइरहेको छ । यसै सन्दर्भमा इटहरीमा भने यसको दुरुपयोग’ बारे विद्यार्थीलाई प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार मोबाइलले मानिसलाई सजिलो बनाएपनि ईन्टरनेटको दुरुपयोगका कारण साइबर अपराधका घटना बढ्दो छ । उनले भने, ‘मोबाइलले मानिसलाई हरेक सूचना पाउन सजिलो बनाएको छ, तर यसको दुरुपयोगले साइबर अपराध पनि बढ्दो छ ।’ उनका अनुसार इटहरी प्रहरीकहाँ पनि ईन्टरनेटको माध्यमबाट दैनिकजसो ठगी भइरहेका उजुरी आइरहेका छन् ।
‘ईन्टरनेटको माध्यमबाट ठगी गर्ने जस्ता समस्या पनि निम्तिरहेको छ,’ डीएसपी खड्काले भने, ‘ईन्टरनेटको दुरुपयोगका कारण घरबारै बर्बाद हुने तथा सामाजिक सञ्जालमा नकारात्मक गतिविधि प्रयोग गर्दा अपराध निर्माण भइरहेको छ ।’ उनका अनुसार पछिल्लो समय सञ्जालमा अरु मानिसको अश्लील फोटो खिचेर पनि ठगी तथा अपराध निर्माण भइरहेकाले सचेत रहनका लागि प्रहरीले यहाँका विद्यालयमा सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।
शुक्रबार इटहरीको मोर्डन प्रिपेरेटरी इङ्लिस बोर्डिङ स्कुलका ‘मोर्डन बाल क्लब’को आयोजनामा भएको साइबर अपराध विरुद्वको सचेतना कार्यक्रममा बोल्दै डीएसपी खड्काले कोरोनाका कारण नेपालमा ईन्टरनेट प्रयोग गर्नेको संख्या बढेकाले यसको सदुपयोग गर्न अपिल गरे ।
‘ईन्टरनेटको प्रयोगले सकारात्मक सूचना लिनेको पहुँच बढ्दो छ, तर यसको दुरुपयोगले अपराध पनि बढाइरहेको छ,’ उनले भने, ‘अस्वभाविक रुपमा मोबाइल, ल्यापटप चलाउने मानिसहरूको संख्या बढेकाले दुरुपयोगका कारण ठगीमा परेका मानिसहरू दिनहुँजसो प्रहरीकहाँ उजुरी दिन आइरहेको अवस्था छ ।’ फेसबुक पासवर्ड ह्याक गर्ने जस्ता काम पनि हुने भएकाले सचेत रहन उनको अपिल थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार पछिल्लो समयका किशोर-किशोरीमा ईन्टरनेटको दुरुपयोगले हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
‘यसअघि दुईवर्षसम्म कोरोनाले भौतिक रूपमा विद्यालयमा विद्यार्थीलाई उपस्थित गराउन नसक्नुले पनि ईन्टरनेटमा जोडिने क्रममा यसको प्रयोग बढ्दो छ,’ उनले भने, ‘तर हाम्रो अध्ययन र चेतनाको हिसाबले हाम्रो समाज पछाडि नै छ, यसको दुरुपयोग हुन नदिनका लागि सकारात्मक अभ्यासको सुरुआत गरेका हौँ ।’ उनका अनुसार कक्षा सातदेखि १० सम्म अध्ययनरत किशोरकिशोरीलाई प्रहरीहरूले प्रशिक्षण दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पछिल्लो समय फेसबुकको दुरुपयोग गरि आपराधिक गतिविधि बढ्दो रहेकाले सचेत हुनुपर्ने बताए । उनले भने, ‘ईन्टरनेटको दुरुपयोगले डिप्रेसन हुने र यसले ज्यानै लिने अवस्था पनि छ, हामी आफैँ पीडित र आफैँ पीडक छौँ ।’ उनका अनुसार अहिले मोबाइलमा विश्व रहेपनि यसको दुरुपयोगले रोग निम्तिरहेकाले सचेत हुनुपर्नेमा जोड दिए ।
नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । सो ऐनको दफा ४७ अनुसार साइबर अपराध रोक्न कारबाही गरिदैँ आएको छ । सो दफा अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामाग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । (राजधानी दैनिकबाट साभार )
तस्वीरहरु :