-आर. के. कटवाल
इटहरी । नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले आफ्नो बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
प्रेस युनियन बराहक्षेत्र नगर कार्यसमितिको आयोजनामा विहिवार चक्रघट्टीमा आयोजना गरिएको शुभकामना आदान प्रदान एवं भित्तेपात्रो सार्वजनिक कार्यक्रममा युनियन नगर समितिले भित्तेपात्रो सार्वजनिक गरेको हो ।
पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि एवं प्रेस युनियन सुनसरीका पदाधिकारी र नेपाली कांग्रेस बराहक्षेत्रका प्रतिनिधीको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागीहरुले युनियन बराह समितिलाई सक्रियताका साथ यूनियनका गतिविधि संचालन गर्दै आएकोमा कार्यसफलताको लागि बधाई एवम् शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले बराहक्षेत्रमा युनियनले सूचना सम्प्रेषणमा खेलको भूमिकाको चर्चा गर्दै पत्रकारलाई एकजुट र सक्रिय बनाउन देखाएको सक्रियताको प्रसंशा गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल प्रेस युनियन सुनसरीका उपाध्यक्ष संजीव वाग्लेले पत्रकारको हक हितमा प्रेस युनियनले सुनसरीले गरेको कामको चर्चा गर्दै बराहक्षेत्र नगर समितिले गरेका कामहरुको प्रसंशा गरेका थिए ।
जिल्लामा नगर कार्यसमिति गठनको विरोध हुँदाहुँदै पनि त्यस विरोधको पर्वाह नगरेर युनियन सुनसरीले नगर समिति गठन गरेको बताउँदै वाग्लेले भने, ‘नगर समिति गठन गर्ने हाम्रो निर्णय सहि भएको पुष्टि भएको छ । बराह नगर कार्यसमितिले जिल्लाका अरु नगर समिति भन्दा सक्रिय भएर हाम्रो उक्त निर्णय सहि भएको पुष्टि गरिदिएको छ। ’
विगत पाँच वर्षमा नगरमा भएका राम्रा नराम्रा सबै कामको यथार्थ चित्र मिडिया मार्फत बराहक्षेत्रका जनता माझ राखिदिन आग्रह गर्दै वाग्लेले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक धारलाई अझ मजबुत बनाउन र लोकतान्त्रिक धारको एजेन्डा स्थापित गर्न प्रेस युनियनको भूमिका महत्त्वपूर्ण हुनेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बराहक्षेत्रका महाधिवेशन प्रतिनिधि सुरेन्द्र गुप्ताले प्रेस युनियनको सक्रियताले बराहक्षेत्रमा सूचना र समाचारमा सर्वसाधारणको पहुँच बढेको बताउँदै नगरमा गटेका घटना लगायत विभिन्न गतिविधीका सूचनाहरु क्षण भरमै सर्वसाधारणमा पुग्ने गरेको बताए ।
प्रेस युनियन बराह नगर समितिको सक्रियताले नगरमा भएका अनियमितता, घोटाला लगायत जनप्रतिनिधिका गलत कामहरु सर्वसाधारणमा पुगेको बताउँदै गुप्ताले विगत पाँच वर्षमा बराहक्षेत्र नगरपालिकामा जनप्रतिनिधिले गरेका गलत कामको फेहरिस्त प्रेसले जस्ताको तस्तै जनता माझ पुनः राखिदिनु पर्नेमा जोड दिएका थिए ।
युनियन नगर सभापति एवम् कार्यक्रमका सभाअध्यक्ष संगम विष्टले प्रेस युनियन नगर समितिले गरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् बाबुबाम कार्की, प्रदेश पार्षद विवेक विवस रेग्मी बराहक्षेत्र वडा नम्बर ६ की जनप्रतिनिधि दुर्गा खरेलले आफ्नो धारणा राखेका थिए ।