काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायम राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा साहले ४०२ मत प्राप्त गरेका हुन् । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लागेका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । उनि साहभन्दा ८३ मतले पछाडी छन् ।
गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन् । उनि साहभन्दा २०० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।
अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।
उपप्रमुखमा डङ्गोलको अग्रता कायमै
काठमाडौं महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् । सार्वजनिक भएको मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी हुन् । त्यसगरी, गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत प्राप्त गएका छन् ।