काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा–२ मा अघिल्लोपटक जितेको एमालेको जमानत जफत भएको छ ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले समेत खसेको मतको १० प्रतिशत ल्याउन नसक्दा लज्जास्पद हार बेहोर्नुपरेको छ। शुक्रबार भएको मतदानमा उक्त वडाबाट कांग्रेसका रणबहादुर तामाङको प्यालन नै विजयी भएको हो ।
शंखरापुर नगरपालिकाकी निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार निर्वाचित भएका तामाङले ६४७ मत ल्याएका छन्। प्रतिस्पर्धी माओवादी केन्द्रका कान्छाराम थिङले ४६८ मत पाएका छन् ।
एमालेका जीवन लामाले जम्मा ६४ र एकीकृत समाजवादीका उदयबहादुर कार्कीले ११५ मत मात्रै पाएका छन् । १३७१ मत खसेकोमा जमानत जोगाउन कम्तिमा १० प्रतिशत हुने १३८ मत ल्याउनुपर्ने भए पनि एमाले र समाजवादी दुवै त्यो भन्दा तल झरेका हुन् ।
यिनै लामा २०७४ सालको चुनावमा निर्वाचित हुँदा ३८३ मत पाएका थिए । त्यस्तै, कांग्रेसका वडा अध्यक्षका प्रत्यासी अग्निप्रसाद लामिछानेले २१६ मत पाएका थिए भने त्यति बेला पनि माओवादीबाट प्रत्यासी बनेका थिङले ३६४ भोट ल्याएका थिए ।








