काठमाडौं । नेकपा एमालेले बर्चश्व राखेको इलाम नगरपालिकाको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख उपप्रमुखसहित बहुमत वडा अध्यक्षमा जीत हासिल गरेको छ ।
पुर्वकै जेठो नगरपालिका इलाम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य केदार थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका धिरेन कुमार चेम्जोङलाई २ हजार ५ सय ७८ मतान्तरले हराउँदै प्रमुख पदमा निर्वाचित बनेका हुन् ।
थापाले १३ हजार १ सय ६५ मत प्राप्त गर्दा चेम्जोङले १० हजार ५ सय ८७ मत प्राप्त गरे । गत स्थानीय निर्वाचनमा हाल नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत प्रमुख पदमा निर्वाचित भएका थिए ।
इलाम नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसकै विष्णु कुमारी लिम्बु निर्वाचित भए । लिम्बुले एमालेकी सीतादेवी रिजाललाई पराजित गरे । लिम्बुले १३ हजार ५ सय ४२ मत पाउँदा रिजालले १० हजार ८८ मत प्राप्त गरे ।
इलाम शहरी खानेपानी आयोजनाका अध्यक्ष केदार थापा २०३६ सालदेखि नेपाल विद्यार्थी संघमा रहेर राजनीति शुरु गरेका थिए । इलाम बजारमा २०२१ सालमा जन्मनुभएका थापाले २०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका थिए ।
जिल्ला सहकारी संघको अध्यक्ष लगायतका संस्थामा रहेकी विष्णु दाहाल लिम्बु इलामको सामाजिक क्षेत्रमा परिचित नाम हो । लिम्बु नेपाल रेडक्रसको पुर्व सभापति हुन् ।
नगरका १२ वडा मध्ये नेपाली काँग्रेसले ९ वटा वडाको वडाध्यक्ष सहित वहुमत सदस्यहरु जितेको छ । काँग्रेस सहित नेकपा एकिकृत समाजबादी नेकपा माओबादी केन्द्र सहितका दलहरु गठबन्धन सहित स्थानीय निर्वाचनमा भाग लिएका थिए ।