काठमाडौं । सशस्त्र प्रहरी बलको गोताखोर तालिम सम्पन्न भएको छ।
शनिबार चितवनको कुरिनटारमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको आयोजनामा संचालन भएको गोताखोर तालिम समापन भएको हो।
युएनडीपीको सहयोगमा भएको उक्त तालिमबाट सशस्त्र प्रहरीका २० जनाले गोताखोर तालिम लिएको शिक्षालयले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार यससँगै नेपालमा गोताखोरको संख्या ५६ पुगेको छ ।
यसअघि बंगलादेशबाट गोताखोर ल्याएर उद्धारमा खटाउनु पर्ने अवस्था थियो । समापन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बंगलादेशबाट गोताखोर ल्याउनुपर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको बताए ।
गृहमन्त्री खाँणले भने, ‘बेमौसममा वर्षा भएर धनजनको क्षति हुने देशमा गोताखोर आवश्यक छ। हराएका मानिसहरुको उद्दारको लागि बंगलादेशबाट समेत गोताखोर ल्याउनुपर्ने अवस्था थियो। अहिले नेपाल्मै योग्य गोताखोर हुनु खुशीको कुरा हो।’
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले पर्याप्त साधनस्रोतको अभावमै पनि तालिम सम्पन्न गरेको बताए।
यस्तै, शिक्षालयका इन्चार्ज एसएसपी अञ्जनीकुमार पोखेलले कुरिनटारको शिक्षालय रणनीतिक रुपमा पनि ठीक ठाउँमा रहेको बताए। आफूहरुसँग उद्धारका लागि चाहिने साधनस्रोत भने पर्याप्त मात्रामा नरहेको उनको भनाइ छ।
गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा भएको पाँच हप्ताको तालिमको शनिबार समापन गरिएको हो।