काठमाडौं । आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।
जोशीले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए ।
उनले भने, ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ। सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’
उनले थपे, ‘यो तीन दिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गइ कुन–कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनु होला ।’