काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी शनिबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवको अवसरमा असार १८ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
काठमाडौंको हल्चोक स्वयम्भूस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संघका पदाधिकारी तथा सशस्त्र प्र्रहरी अधिकृत एवं विल्लादार जवानहरु गरी कूल ७७ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका इकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु सहभागि भएका थिए ।
स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता
यसैगरी असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका विच संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्याल र विभिन्न अस्पतालका प्रतिनिधिहरु विच स्वास्थ्य उपचारमा छुट गर्ने सम्बन्धी सम्झौता आदन प्रदान भएको हो ।
सशस्त्र प्रहरी परिवार महिला सघंको २१औं वार्षिकोत्सवको अवसर पारी सशस्त्र प्रहरी परिवार महिला संघ र चितवन मेडीकल कलेज भरतपुर, नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुर, काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर, बिराट मेडिकल कलेज (टिचिङ्ग अस्पताल) र लर्ड ए बुद्ध एजुकेशन एकेडेमी लिमिटेड (नेपालगंज मेडिकल कलेज) बाँके वीच सम्झौता भएको हो ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरु तथा उनीहरुका परिवारजनले ती अस्पतालहरुमा स्वास्थ्य उपचार गर्नु परेमा अधितकम् २५ प्रतिशत सम्म छुट पाउने गरी सम्झौता भएको छ ।
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन
सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवको पुनित अवसरमा गत असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको हो ।
सो कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी विज्ञ डा. किशोर अधिकारीले सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई मनोपरामर्शका विविध पक्षहरु, अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई हुर्काउदा ध्यान दिनुपर्ने असल अभिभावकीय शिक्षा, तनाव व्यवस्थापन, दैनिक कसरत, योगा र ध्यानले मानसिक स्वास्थ्यमा पुर्याउने फाइदाहरु लगायत व्यस्त दैनिकीमा तथा जीवनयापनमा आउन सक्ने विविध मानसिक समस्या र तिनका समाधानबारे प्रशिक्षण दिईएको थियो ।
स्वयम्भूनाथ स्तुपमा द्विप प्रज्वलन
सशस्त्र प्रहरी परिवार महिला संघले राष्ट्रका लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात बीर शहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै असार १६ गते स्वयम्भूनाथ स्तुपामा द्विप प्रज्वलन गरेको छ । सो संघकी अध्यक्ष श्रीमती अनिता अर्याल तथा संघका पदाधिकारीहरुले
बार्षिकोत्सवको पुनित अवसरमा सो स्तुपामा द्विप प्रज्वलन गरेका थिए ।
सो अवसरमा सो संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरुले स्वयम्भूनाथ मन्दिरको परिक्रमा समेत गरेका थिए । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ समाज सेवाको पवित्र उद्देश्य लिएर वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रहरुमा सेवामूलक एवं जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम लगायत सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई सीप मूलक तथा आयमूलक विभिन्न तालिम प्रदान गरेका थिए ।
साथै विभिन्न कारण अशक्त तथा असहाय, पीडित बालबालिका एवं बृद्धबृद्धा, प्रकोप पीडितलाई विविध राहत सहयोग तथा सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई निःशुल्क रुपमा आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था समेत मिलाएको छ ।







