काठमाडौं । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आजलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हाे । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।
नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
को हुन् पुर्व प्रधानमन्त्री आबे ?
जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता हुन् ।
दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए ।
राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ ।
आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो ।
सन् १९५४ मा जन्मिनु भएका आवेको ६७ वर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।
राजनीतिमा भने उनि सन् १९८२ मा तत्कालीन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनि सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए ।
उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए ।
उनि पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । त्यतिबेला उनि जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थियो ।
त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनि चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बन्नुभएको थियो भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री रहेका थिए ।







