इटहरी । सप्तकोसी नदीले पश्चिम तर्फ उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटेबाट सप्तकोसी नदी बस्तीभित्र पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ जान थालेका छन् ।
बिहान करिब ४ बजे सप्तकोसीमा बनाइएको अग्लो डिल भत्काएर भंगालो बस्तीमा पसेपछि बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ८ जोखिममा परेको बताइएको छ ।
घटनाको स्थलगत निरीक्षणका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की घटनास्थलतर्फ हिँडेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी जोरासिंह माझीले सुनसरीतर्फ अहिलेको अवस्थामा धेरै क्षति नभएको जानकारी दिए ।
हिजो बेलुकाको तुलनामा कोशीमा पानीको बहाव घट्दै गएको उल्लेख गर्दै उनले उत्तरीभेगस्थित पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेको हुदाँ समस्या बढ्न सक्ने बताए ।
कोशीमा मंगलबार बेलुका २ लाख ४१ हजार ५ सय क्यूसेक पानी रहेपनि बुधबार बिहान साढे १० बजेको मापन २ लाख ३० हजार ६ सय ४० रहेको सहायक प्रजिअ माझीले जानकारी दिए ।
बराह क्षेत्रको वडा नम्बर ६ र ८ बाक्लो बस्ती नभएको हुदाँ धेरै समस्या नदेखिएको बताएका उनले प्रभावित क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षितस्थलतर्फ राख्न सुरक्षानिकाय, नगरपालिकाको टोली खटिएको जानकारी दिए। हाल प्रभावित क्षेत्रमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा टोली पुगेको छ ।
स्थानीयका अनुसार कटान क्षेत्रमा विगत २ सातादेखि बाढी रोक्ने प्रयास भइरहेको थियो। यद्यपि, पानीको बहाव बढेसँगै बाढीले अग्लो डिललाई फुटाएपछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिवार जोखिममा परेका हुन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार बाढीले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन्। डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उनले बताए।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको उनले बताए । जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । प्रभावित स्थानीयहरूलाई सुरक्षित गराउन नगरपालिका लागिपरेको नगर प्रमुख कार्की बताउँछन् ।