काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको उच्च सरकारी श्रोतले नीतिसञ्चारलाई बताए ।
‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’
हिजाे सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।
यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।






