इटहरी । प्रदेश खारेजीलाई मुख्य मुद्दा बनाएर आशन्न निर्वाचनमा सहभागी हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
राप्रपाद्वारा मंगलबार इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मुलुकमा दुई तहको मात्रै सरकार आवश्यक रहेकाले प्रदेश खारेजीको अभियान लिएर निर्वाचनमा केन्द्रित हुने बताएका हुन् ।
प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमअघिको उक्त पत्रकार सम्मेलनमा प्रदेश संरचना खारेज गर्नुपर्ने बताउँदै थापाले भने, ‘केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न गरी दुई तहको सरकार मात्रै कायम गर्नुपर्दछ । प्रदेश तह खारेज गर्नुपर्दछ भन्ने अवधारणा जनसमुदायमा पु¥याउनुपर्छ, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’
संविधान कायम रहन्जुलेसम्म प्रदेशसभालाई आफूलाई अस्विकार्य नरहेको तर, प्रदेशसभाको खारेजीको विषयलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा सहभागी हुने उनको जिकिर छ ।
निर्वाचनमा अन्य दलहरुसंगको तालमेलको विषयमा संचारकर्मीको जिज्ञासामा उनले कुन दलसँग गर्ने निर्णय नभइसकेपनि विभिन्न राजनीतिक दलसँग छलफल चलिरहेको उनले बताए ।
उनले भने, ‘एक्लै चुनाव जित्न कठीन हुन्छ, त्यसैले कुनै न कुनै पार्टीसँग तालमेल गर्नैपर्छ, तालमेल गर्दा जित्न सकिन्छ भने त्यसैसँग तालमेल गर्ने हो । हाम्रो उदेश्य चुनाव जित्ने हो, शैद्वान्तिक, वैचारिक एलाइन्स भन्दापनि चुनाव जित्ने चैँ तालमेल हो ।’
आगामी निर्वाचनमा राप्रपा नेपालको धेरै ठुलो आकांक्षा नभएको बताउँदै उनले भने, ‘हाम्रो धेरै ठूलो आकांक्षा पनि छैन, केही सीमित ठाउँमा चुनावी तालमेल गर्छौँ, तालमेलका लागि नेकपा एमालेसँग छलफल भइरहेको छ, एमाले सकारात्मक छ ।’
हिन्दु राष्ट्र पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण र बेरोजगारी निरुत्साहन आफूहरूको पार्टीको महत्त्वपूर्ण एजेन्डाहरु रहेको उनले बताए ।
चुनावमा राप्रपा नेपालले ५ देखि १० सिट क्षेत्र पाउनेगरी तालमेल गर्ने उनको दाबी छ । उनले भने, ‘तालमेल नभएका क्षेत्रमा हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी खडा गर्नेछ ।’







