- निशा दाहाल (दुर्गा)
मोरङ । प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको दावी गरेका छन्।
विराटनगरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको दावी गरेका हुन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा भण्डारीले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई सहमति कायम गरौँ भनेँ। सहमतिका लागि प्रयास गरें । तैपनि, दलबीच सहमति बन्न सकेन।’
उनले अगाडी भने, ‘दलहरूले पनि आन्तरिक र बाह्य रूपमा सहमतिको कोसिस गर्नुभयो। तर त्यो पनि सफल हुन सकेन। त्यस कारण पनि अब यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना न्यून हुदै गएको छ।’
प्रदेशको नामकरणका लागि दलहरूको हठले काम गरेको भन्दै उनले भने, ‘नामकरणका लागि दलहरूले आफ्नो हठ नछाड्ने, आफ्नो प्रस्तावभन्दा पछाडि नहट्ने हुँदा मलाई लाग्छ यो प्रदेशसभाबाट प्रदेशको नाम राख्ने कुरा न्यून भएर गएको छ।’
विष्णु निष्ठुरी पुरस्कृत
कार्यक्रममा सभामुख भण्डारीले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लब उर्लाबारी मोरङका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरेका थिए।
महासंघका पूर्वअध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ र सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ प्रदान गरेको हो।