काठमाडौं । आज हरितालिका तीज । नेपाली हिन्दु महिलाहरुको महान पर्व । सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गरेर मनाउँदैछन् ।
काठमाडौंमा पशुपतिनाथ, सुनसरीमा पिण्डेश्वर महादेव सहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको आज बिहानैदेखि भीड लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।
विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।