काठमाडौं । नागरिकताको विषयमा राष्ट्रिय दृष्टिकोण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छिन्।
साना कम्युनिष्ट पार्टीका नेताहरुसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा साझा धारणा आवश्यक रहेको उल्लेख गरेकी हुन्।
भणडरीको निम्तोमा बुधबार क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेल, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती), नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेता धर्मेन्द्र बास्तोता लगायतका नेताहरु शिलत निवास पुगेका थिए।
नेताहरु नागरिकता विधेयक फिर्ता गरेको राष्ट्रपति भण्डारीको निर्णयलाई समर्थन जनाएको एक नेताले जानकारी दिए।
भण्डारीले आफूले विधि र प्रक्रियाअनुसार नै विधेयक फिर्ता पठाएको दाबी गरिन्। ‘विधि प्रक्रियाअनुसार विधेयक फिर्ता पठाएको हुँ। मुलुक सबैभन्दा माथि हुन्छ, भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ। त्यसमा तपाईंहरु पनि लाग्नुहोस्।’
राष्ट्रपति भण्डारीको भनाइले नागरिकता विधेयक फरक फरक मत रहेको र त्यसमा एक रुपता हुनुपर्ने उल्लेख गरिन्। भण्डारीको भनाइको आशय ‘राष्ट्रिय धारणा बन्नु अघि आएको नागरिकता विधेयकलाई किन मान्नु’ भन्ने खालको रहेको एक नेताले उल्लेख गरे।
राष्ट्रपति भण्डारीले बुधबार नै नेमकिपाका सांसद एवं नेता प्रेस सुवालसँग भेट गरेकी छिन्।
नागरिकता विधेयक अघि बढेसँगै सक्रिय भएकी राष्ट्रपति भण्डारीले बिहीबार नेपाल प्रहरी र शसस्त्र प्रहरीका पूर्व अधिकृतसँग छलफल गर्दैछिन्।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालले भने, ‘भोलिको छलफल कुनै राजनीतिक विषयमा होइन। उहाँहरुले पनि पहिलादेखि भेट्न चाहनु भएको थियो। त्यसैअनुसार शिष्टाचार सामुहिक भेट हुन लागेको हो।’ यसअघि भण्डारीले सेना रिटार्य अधिकृतहरुसँग पनि छलफल गरेकी थिइन्।