काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरुका लागि पाँच वटा मापदण्ड तय गरेको छ ।
शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
‘समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने कुरा हो,’ नेता रामचन्द्र पौडेलले भने,‘योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने मापदण्ड बनाएका छौं । चुनाव जित्न सक्नेलाई उम्मेवार बनाउनुपर्छ । यस्तै यस्तै पाँचवटा मापदण्ड बनाएका छौं ।’
शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष तहका नेताको बैठकमा पूर्व पदाधिकारीलाई पनि आमन्त्रण गरिएको थियो । गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका थिए ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूचि बुझाउन असोज २ र ३ गतेको समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ताको लागि आयोगले असोज २३ गतेलाई तोकको छ ।







