- राम कुमार कटुवाल
इटहरी । प्रदेश १ को ‘ट्रान्जिट’को रुपमा रहेको महानगर उन्मुख शहर इटहरीमा पुनः दैनिक पत्रिका संचालन हुने भएको छ । इटहरीकै पहिलो पत्रिकाको इतिहास बोकेको सप्तकोसी साप्ताहिक अब रंगीन कलेवरमा दैनिक प्रकाशनमा आउन लागेको हो ।
आइतवार इटहरीमा स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित ‘सप्तकोसी दैनिकको नमुना अङ्क सार्वजनिकरण सार्वजनिकरण कार्यक्रम’मा पत्रिकाको नमुना अङ्क सार्वजनिक गरिएको छ ।
नमुना अङ्क सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेले पत्रपत्रिका संचालन गर्नु चुनौतीपूर्ण मानिदै गएको समयमा दैनिकरुपमा ब्रोडसिट पत्रिका निकाल्न आँटगर्नु चानचुने कुरा नभएको भन्दै उक्त कार्यको प्रशंसा गरेका थिए ।
प्रदेश १ को महानगर उन्मुख शहर इटहरीलाई सशक्त दैनिक पत्रिकाको आवश्कता रहेको बताउँदै वाग्लेले इटहरीको पहिलो पत्रिका ‘सप्तकोशी’ लामो अन्तरालपछि नयाँ संरचनासहित नमूना अंकमार्फत पुन: जन्मेको सर्वजनिक गर्न पाउँदा र त्यसनिम्ति शुभकामना दिन आउँदा आफु अत्यन्त हर्षित रहेको बताए ।
संसारका सभ्य र बिकशित सहरहरुमा दैनिक पत्रिकाले त्यहाँको आधुनिक सभ्यता र वैभवताको परिचय दिने बताउँदै विकशित शहरहरुमा दैनिक पत्रिका अत्यावश्यक हुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रिका नभएको शहर प्रश्न नभएको पत्रकारजस्तो हुन्छ ।’
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल विज्ञापन बोर्डका सदस्य समेत रहेका पत्रकार एवम् नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले इटहरीको पहिचानसँग जोडिएको सप्तकोसी साप्ताहिक लामो अन्तराल पछि सप्तकोसी दैनिकको रुपमा पुनः सुचारु हुन लागेको भन्दै पत्रिकाको सफलता र निरन्तरताका लागे शुभकामना दिएका थिए ।
अधिकारीले भने, ‘सप्तकोसी दैनिक नयाँ रुपमा आउन लागको छ । यस पत्रिकाले इटहरी र इटहरीका नागरिकको भावनाको प्रतिनिधित्व गर्दै अगाडी बढ्न सकोस । मेरो शुभकामना छ ।’
कार्यक्रममा बोल्दै पत्रिकाका प्रथम सम्पादक कृष्ण अधिकारीले इटहरीमा सप्तकोसी दैनिक सम्म आइपुग्दाको पत्रिकाको यात्रा वृत्तान्त सुनाएका थिए । पंचायती व्यवस्थाको जगजगी रहेको समया २०३९ सालमा पत्रिका दर्ता गरेर सप्तकोसी साप्ताहिक संचालनमा ल्याएको स्मरण गर्दै अधिकारीले सोहि पत्रिका नयाँ कलेवरमा दैनिक पत्रिकाको बजारमा ल्याउन पाउँदा आफु अत्यन्तै हर्षित भएको बताएका थिए ।
किरण टी लिम्बुको अध्यक्षतामा प्रस्तावित ‘इटहरी साझा सञ्चारगृह’ को आयोजना भएको उक्त कार्यक्रमा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्ले, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, सप्तकोसीका प्रथम सम्पादक/ प्रकाशक कृष्ण अधिकारी, शिक्षाविद् लेखनाथ घिमिरे, १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो सहित उपस्थित सबैले पत्रिकाको सार्वजनीकिकरण गरेका थिए ।
कार्यक्रममा पब्लिक कम्पनीको रुपमा दर्ता प्रकृयामा रहेको इटहरी साझा सञ्चारगृहको परिकल्पना गर्दै मुर्त रुप दिन अहोरात्र खटेको भन्दै कार्यकारी सम्पादकको भूमिकामा रहेका सुविद गुरागाईलाई संस्थाले सम्मान समेत गरेको थियो ।
‘सत्य सूचनाको साझा स्रोत’ भन्ने मूल नाराका साथ प्रकाशन शुरु गर्न लागेको पत्रिकाको सम्पादकको रुपमा मोहन ढुङ्गेल रहेका छन् भने कार्यकारी सम्पादकको जिम्मेवारी सुविद गुरागाईले सम्हाल्दै छन् । दुबैजनासँग यस अघि विभिन्न ठूला राष्ट्रिय दैनिकहरुमा सम्पादकीय जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।

२०३९ सालदेखि साप्ताहिक रुपमा प्रकाशन शुरु भएको इटहरीको पहिलो तथा सुनसरीको ५औँ पत्रिका सप्तकोसी बीस वर्ष नियमित प्रकाशन भएर २० वर्षदेखि प्रकाशन बन्द अवस्थामा रहेको थियो । पत्रकारिता क्षेत्रमा लामो इतिहास बोकेको उक्त पत्रिकालाई प्रस्तावित इटहरी साझा सञ्चारगृहले पुनः नियमित रुपमा दैनिक पत्रिकाको रुपमा प्रकाशनमा ल्याउन लागेको हो ।
तस्वीरहरु :






