उदयपुर । बन्द रहेको उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चारवटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका हुन् ।
उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।
उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ। कोइला अभाव झेल्दै आएको उद्योग सञ्चालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो ।
कोइला अभावमा असोज ९ गतेबाट संचालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभावमा बन्द हुन पुगेको हो । योसँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।