विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिसकेको बताउँदै महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए।
डा. कोइरालाले भने, ‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौ। मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन।’ उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए।
‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने।
‘लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ सकिइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौं,’ उनले भने, ‘म पटकपटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईंहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेको? के पाउनुहुन्छ? केही पाउनुहुन्न।’